काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कमला–बर्दीबास–बागमती सडक स्तरोन्नतिको काम जेनजी आन्दोलनका कारण अवरुद्ध छ ।
आन्दोलनको आडमा तोडफोड, आगजनी र सुरक्षा चुनौती बढेपछि निर्माण कार्य रोकिएको हो । काम ठप्प हुँदा तीन सय भन्दा बढी कामदार अलपत्र छन । विश्व बैँकको १८ अर्ब ६० करोड रुपैयाँ ऋण सहयोगमा निर्माणाधीन ७४दशमलव ७५ किलोमिटर लम्बाइको यो सडक सन २०२५ जनवरीमा शुुरु भई सन २०२७ को जनवरीमा सम्पन्न गर्नुपर्ने भए पनि विभिन्न बाधा–अवरोधले आयोजना प्रभावित हुँदै आएको छ ।
कमला ढल्केवर पथलैया सडक आयोजना बर्दिवासका अनुसार हाल सडक खण्डमा पुल र कल्भर्ट निर्माणको काम भइरहेको थियो । अहिलेसम्म १० वटा कलभर्टको निर्माण सम्पन्न भइसकेको छ । १९ पुल र १२ कलर्भट निर्माण भइरहेको बेला आन्दोलन चर्केपछि कामदारको सुरक्षा र निर्माण उपकरण जोगाउन काम रोक्नु परेको जनाइएको छ । निर्माणाधीन अधिकांश पुलपुलेसा महोत्तरी र सर्लाहीको जङ्गली क्षेत्रमा पर्छन ।
निर्माण कार्य मात्र नभई प्रशासनिक प्रक्रिया समेत प्रभावित हुनुका साथै सडक ‘राइट वे’ भित्र पर्ने रुख, विद्युत पोल तथा घरटहरा व्यवस्थापनको काम पनि स्थगित छ । आन्दोलनका कारण कमलादेखि बागमतीसम्मको सडक दायाँबायाँ पर्ने ८ हजार ४ सय ५२ वटा रुख हटाउने प्रक्रिया अन्तिम चरणमा पुगेर रोकिएको छ ।
रुखको गणना, प्रमाणीकरण, नम्बरिङ र टाँचा लगाउने काम सकिएको छ । अब प्रदेश वन निर्देशनालयको अनुगमनपछि डिभिजन वन कार्यालयबाट कटान आदेश जस्ता प्रक्रियागत काममा बाधा पुगेकोे छ । त्यस्तै, सडक विस्तार क्षेत्रमा पर्ने २ हजार २ स ४१ वटा विद्युत् पोलको व्यवस्थापन पनि पछि धकेलिएको छ ।
सडक क्षेत्राधिकारमा पर्ने २५–२५ मिटरभित्रका घरटहरा हटाउन गठित ३ सदस्यीय समितिले २ साताभित्र प्रतिवेदन बुझाउनु पर्ने थियो । आन्दोलनले यो प्रक्रिया पनि प्रभावित भएको गौरीडाँडास्थित आयोजनाको कार्यालयले जनाएको छ ।