समाज

जानकी नवमी : सीताप्रति भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै

जानकी नवमी : सीताप्रति भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।

त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्र श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति भएको विश्वास गरिन्छ । 

जानकीको जन्मदिनको अवसरमा जनकपुरमा पूजाअर्चना भजनकीर्तन तथा झाँकी भैरहेका छन । आज बिहानैदेखि जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिरलगायत मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरुको भिड लागेको छ । 

जानकी मन्दिर व्यवस्थापन पक्षले जानकी नवमीको अवसरमा विभिन्न कार्यक्रम आयोजन गरेको छ । आज बिहानै दुधमति नदीमा स्नान, जानकी मन्दिरमा बधाइगान, प्राकट्य उत्सव, झाँकीकिर्तन जस्ता कार्यक्रम आयोजन गरिएको छ । जानकी नवमीमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुर आएका छन् । जानकी प्रकट भएको दिनलाई स्मरण गर्दै वैशाख शुक्ल नवमीका अर्थात् जानकी प्रकाट्य जन्मोत्सव धूमधामका साथ मनाउने गरिएको छ । 

जन्मोत्सवको मुख्य दिन आज बिहान ५ बजे जानकी मन्दिरबाट दूधमती नदीसम्म जानकीको शाही स्नान गरिनेछ । त्यसपछि दिउँसो १२ बजे जन्म आरती तथा बधाई मङ्गलगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र बेलुका ७ बजे विशेष आरतीसहित दीपोत्सव आयोजना गरिनेछ । 

जानकी जन्मदेखि छठिहारसम्म हरेक दिन बेलुका ७ बजे मन्दिरको गर्भगृहमा जन्म बधाई गान गाइनेछ । मन्दिर व्यवस्थापन समितिका अनुसार वैशाख २४ गते उपासनाका लागि मटकोर कार्यक्रम आयोजना हुनेछ भने वैशाख २५ गते धार्मिक तथा सांस्कृतिक गीतसहित सीताराम विवाह महोत्सव भव्य रूपमा मनाइनेछ । जानकी नवमीका अबसरमा आज प्रदेश सरकारले सार्वजनिक विदा समेत दिएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *