काठमाडौं । भारत पाकिस्तान तनावले स्थगित भएको इण्डियन प्रिमियर लिग आइपिएल पुनः सुचारु हुने भएको छ ।
भारत र पाकिस्तानबीच युद्धविराम भएपछि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले बाँकी खेलहरूको तालिका घोषणा गरेको हो । आईपीएल मे १७ बाट फेरि शुरु हुने भएको छ । सबै खेलहरू छ वटा मैदानमा खेलाइनेछन् । फाइनल खेल जुन ३ मा खेलिनेछ ।
भारत र पाकिस्तानबीचको तनावका बीच बीसीसीआईले आईपीएल एक हप्ताको लागि स्थगित गरेको थियो । १८औं सिजनका ५८ खेल खेलिएका थिए, जसमा धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बीचको खेल अनिर्णीत भएर रोकिएको थियो । तर, अब बीसीसीआईले यो खेल फेरि आयोजना गर्ने निर्णय गरेको छ ।
दुवै टोली मे २४ मा जयपुरमा भिड्नेछन् । बोर्डले आईपीएल २०२५ सिजनका बाँकी १७ खेलहरूको तालिका घोषणा गरेको छ । बाँकी खेलहरू बेंगलुरु, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबाद सहित छ वटा मैदानमा खेलाइनेछ ।
प्लेअफका खेलहरू मे २९ बाट शुुरु हुनेछन् । पहिलो छनोट खेल मे २९ मा हुनेछ । एलिमिनेटर मे ३० मा खेलाइनेछ । दोस्रो छनोट खेल जुन १ मा खेलाइनेछ भने फाइनल खेल जुन ३ मा हुनेछ । यी चार खेलको स्थान पछि घोषणा गरिने बताइएको छ ।