मुख्य समाचार

दुधमा आत्मनिर्भर काभ्रे, ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा

दुधमा आत्मनिर्भर काभ्रे, ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा

काठमाडौं । दुधमा आत्मनिर्भर काभ्रेबाट उत्पादितमध्ये ७० प्रतिशत दुध संघीय राजधानी काठमाडौंलगायत केही जिल्लामा आपूर्ति हुने गरेको छ । 

केही वर्षदेखि जिल्लामा वार्षिक करिब डेढ लाख मेट्रिक टन अर्थात् १४ करोड ९२ लाख ८० हजार लिटर दुध उत्पादन हुने गरेको तथ्याङ्कले देखाएको छ । 

जिल्लामा वार्षिक एक लाख ४९ हजार २८० मेट्रिक टन दुग्ध उत्पादन हुने गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । दुग्धमा आत्मनिर्भर यस जिल्लामा एक लाख ४७ हजार ८७४ गाई र एक लाख ३८ हजार ४९९ भैँसीबाट उक्त परिमाणमा दुध उत्पादन भएको जनाइएको छ । 

कार्यालयका अनुसार कुल गाईमध्ये हालको अवस्थामा ४३ हजार १०७ दुधालु गाई र ५९ हजार ३२० दुधालु भैँसी रहेका छन् । यस्तै जिल्लामा रहेका दुधालु गाईमध्ये २३ हजार ८३५ स्थानीय र  १९ हजार २७२ उन्नत जातका छन् ।

जिल्लाका कुल दुधालु भैँसीमध्ये ३४ हजार ३४० स्थानीय र २४ हजार ९८० उन्नत जातको रहेको कार्यालयले जनाएको छ । पछिल्लो समय जिल्लामा दुग्धको बिक्रीबाट जिल्लामा भित्रने रकमबारे आधिकारिक तथ्याङ्क सङ्कलन भइरहेको छ । जिल्लाको पनौती, बनेपा, मण्डनदेउपुर र पाँचखाल नगरपालिकामा सबैभन्दा बढी दूध उत्पादन हुँदै आएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

विसं २००९ देखि दुध बिक्री हुँदै आएको इतिहास रहेको काभ्रेपलाञ्चोकलाई २०७३ साल साउनमा ‘दुधमा आत्मनिर्भर जिल्ला’ घोषणा गरिएको थियो । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अनुसार जिल्लामा उत्पादित कुल दुधमध्ये ७० प्रतिशतको हाराहारीमा अन्य जिल्लामा आपूर्ति भइरहेको छ ।

यसैबिच सरकारद्वारा जारी दुध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५ कार्यान्वयनमा निकै कठिनाइ देखिएको छ । नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले काभ्रेमा रहेका दुग्ध चिस्यान केन्द्र तथा दूध सङ्कलन केन्द्रको पटकपटक अनुगमन गरी सचेत गराए पनि जिल्लाका अधिकांश व्यवसायीले अझै प्लाष्टिककै भाँडामा दुध ढुवानी गरिरहेका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *