एजेन्सी । इजरायलले यमनमा गरेको हवाई हमलामा ३१ जना सञ्चारकर्मीको मृत्यु भएको छ । यमनको राजधानी सानाको ताहिर स्क्वायरस्थित हुथी बिद्रोहीले सञ्चालन गरेको दुई पत्रिकाको कार्यालयमा इजरायली हवाई आक्रमण हुँदा ३१ सञ्चारकर्मीको मृत्यु भएको छ । इजरायली आक्रमणका कारण स्थानीय समुदाय र सञ्चारजगत शोकमा डुबेको छ । आक्रमण लगत्तै हुथी बिद्रोही समूहले एक वक्तव्य जारी गर्दै राजधानी सानामा रहेको अल–यमन पत्रिकाको कार्यालयमाथि इजरायली विमानले बम आक्रमण गरेको र भवनहरू पूर्णरूपमा ध्वस्त भएको जनाउँदै आक्रमणले आफ्नो सञ्चार गतिविधि कुुनै पनि हालतमा कमजोर नहुने पनि स्पष्ट पारेको छ । हुथी समूहका प्रेस अधिकारी ओमर अल–बुखैतीका अनुसार इजरायलले सञ्चारमाध्यमहरूलाई बारम्बार निशाना बनाएको भन्दै यसको बदला लिन चेतावनी समेत दिएकोछ । हुथी नियन्त्रित स्वास्थ्य निकायका अनुसार सानामा भएको इजरायली आक्रमणबाट हालसम्म ४७ जनाको मृत्यु भइसकेको छ भने १६५ जना घाइते भएका छन् ।