महोत्तरी । दिवा खाजामा छेपारो परेपछि महोत्तरीको एक विद्यालयका ६० बालबालिका अस्पताल भर्ना भएका छन् ।
पिपरा गाउँपालिका ६ रतौलीस्थित आदर्श माध्यमिक विद्यालयका बालबालिकाको दिवाखाजामा छेपारो परेपछि विद्यार्थीहरुलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको हो ।
अस्पतालले बालबालिकामा अहिले कुनै कुनै समस्या नदेखिएको जनाएको छ । यद्यपी अभिभावकहरू चिन्तित भएकाले निगरानीमा राखिएको अस्पतालले जनाएको छ । आज (बिहीबार) दिउँसो खाजा दिइएको एक बालकको प्लेटमा छेपारो परेको थियो ।
ती बालकले छेपारो देखेपछि कसैलाई नभनी खाजा फालेर घर फर्केर अभिभावकलाई सुनाएका थिए । त्यसपछि अभिभावकले खाजामा छेपारो परेको भनेपछि केही बालबालिकाले वाकवाकी लागेको बताएका थिए ।
अभिभावक र विद्यालयले तत्कालै खाजा खाएका ६० बालबालिकालाई प्रादेशिक अस्पताल जनकपुर पु¥याएका हुन् ।