समाज

निजामति विधेयकमा कुलिङ पिरियडको व्यवस्था संवैधानिक छैन, राख्नै परे संविधानमै राखौँः महासचिव पाण्डेय

निजामति विधेयकमा कुलिङ पिरियडको व्यवस्था संवैधानिक छैन, राख्नै परे संविधानमै राखौँः महासचिव पाण्डेय

काठमाडौं । निजामति सेवा विधेयकमा राखिएको कुलिङ पिरियड राख्न नहुने माग गर्दै संघीय संसद सचिवालयका महासचिवसहितको टोलीले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेको छ । 

बिहीवार सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा पुगेर महासचिव सहितका सचिवहरुले अध्यक्ष दाहालसँग निजामति विधेयबाट कुलिङ पिरियड हटाउन आग्रह गरेका हुन् । अध्यक्ष दाहालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव  पद्मप्रसाद पाण्डेयले निजामति कर्मचारी रिटायर्ट भएपछि दुई वर्षसम्म कुनै सरकारी वा संवैधानिक निकायमा नियुक्ति हुन नपाउने विषयले रिटायर्ड हुने बेलामा वा भइसकेपछि डिस्क्वालिफाईड गराएर रिटायर्ड गराउन उपयुक्त नहुने आफूहरुको आग्रह रहेको बताए ।

उनले नियुक्ति गर्ने की नगर्ने भन्नेकुरा सम्बन्धित निकाय, सरकारले आफैँ गर्नसक्ने भएकाले रिटायर्ड हुँदै गर्दा कर्मचारीको अपमान गर्न नहुने पाण्डेयको भनाई छ । कुलिङ पिरियड राख्नु भनेको आफैँमा संवैधानिक विषय नभएको र कुन संवैधानिक निकायमा कुन पदाधिकारी वा कस्तो योग्यता भएको व्यक्ति नियुक्ति गर्नुपर्छ भन्नेकुरा संविधान आफैँले बोलेको बताए । निजामतिबाट आउट भइसकेको कर्मचारीलाई निजामति ऐनको विषय नरहने उनको भनाइ छ  ।

कुलिङ पिरियडको बारेमा कर्मचारीको विरोध नरहेको भन्दै राख्ने नै भए संविधानमा वा संवैधानिक निकायका पदाधिकारी नियुक्ति सम्बन्धी सेवा शर्त सम्बन्धी ऐनमा राख्नुपर्ने प्रस्ताव पाण्डेयले गरेका छन् । जुन पदमा नियुक्ति गरिने हो त्यही सम्बन्धी कानूनमा नराख्ने हो भने संविधान विपरित हुने उनको भनाइ छ । 
महासचिव पाण्डेयले अहिलेको कुलिङ पिरियडको कुरा समानताको हक विपरित रहेको बताए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *