महोत्तरी । महोत्तरीको एकडारा गाउपालिकाले निजी जग्गामा सरकारी बजेटबाट मदरसा भवन निर्माणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरु गरेको छ ।
गाउपालिकाले निजी जग्गामा मदरसा दारुल ओलुम ईमाम अहमद रजा एकडारा ५ बहेडामा भवन निर्माण र स्तरोन्नति कार्यका लागि करिब २८ लाख बजेटबिनियोजन गरेपछि छानविन अघि बढेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निर्माण प्रक्रियामा सग्लन १५ जनासँग बयान समेत लिएको छ । आयोगले एकडारा गाउपालिका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतहरु संतोष कुमार मिश्र, सरोज कुमार सिंह, सुवोध कुमार महतो, जग्गा बेच्ने व्यक्ति हसमत अलि अंसारी जग्गा खरिद गर्ने व्यक्ति मसलेउद्घिन अंसारी, तत्तकालिन वडाध्यक्ष मदरसा सञ्चालन समितिका अध्यक्ष लगायतसँग बयान लिएको हो ।
पटकपटक परेका उजुरीका आधारमा टोलीले स्थलगत रुपमा विस्तृत छानबिन गरिरहेको छ । विभिन्न समयमा गाउपालिकाले गरेका निर्णय,लगायत विवरण तथा अन्य प्रमाण पनि संकलन गर्ने काम भइरहेको छ ।
एकडारा गाउपालिका ५ स्थित कितानम्बर ३०८को ०—२ —१२ र कितानम्बर ५५९ को ०—० —१६ धुर क्षेत्रफल मसलेउद्घिन अंसारीको नाममा रहेको जग्गामा सरकारी बजेट मर्दसा भवन निर्माण गरिएको हो ।