काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात सञ्चालनमा आएको छ ।
मङ्गलबार राति चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । पहिरो हटाएपछि बिहान नौ बजेपछि सडक सञ्चालनमा आएको हो ।
तीन वटा एक्साभेटरले पहिरो पन्छाइएको हो । पहिरो पन्छाइएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । मंगलबार राति ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । साथै गुडिरहेका बसमा पहराबाट खसेको ढुंगाले लाग्दा एक जना यात्रुको मृत्यु भएको थियो ।
तनहुँबाट नारायणगढतर्फ गइरहेको ग २ ख १८३६ नम्बरको बसमा मंगलबार साँझ इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुलमा सडकमाथिबाट खसेको ढुंगाले लागेको हो । ढुंगाले लाग्दा बसमा सवार लमजुङको घलेगाउँकी ४६ वर्षीय ऐश्वर्या कामीको मृत्यु भएको हो ।
बस र चालक तनहुँ म्याग्दे गाउँपालिका–२ का ३५ वर्षीय तेजकुमार शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।