कृषि

सिरहामा वर्षा नहुँदा रोपाइँ प्रभावित

सिरहामा वर्षा नहुँदा रोपाइँ प्रभावित

काठमाडौं । असार २० सकिँदासम्म पनि सिरहाका अधिकांश खेतहरू अझै सुक्खै छन् । समयमै वर्षा नहुँदा र आवश्यक रासायनिक मलको अभावले धान रोपाइँ प्रभावित बन्दै गएको छ ।

खेत जोतिए पनि पानीको अभावले रोपाइँ थाल्न नसकेका किसानहरू आकाशतिर हेर्दै पानीको प्रतीक्षामा छन् । देशका अधिकांश स्थानमा असार लागेसँगै मनसुन सक्रिय भए पनि मधेसमा भने अझै पर्याप्त वर्षा नहुनु किसानहरूका लागि चिन्ताको विषय बनेको छ ।

तराईका धेरैजसो जिल्लाजस्तै सिरहाका किसान पनि आजसम्म सिँचाइको भरपर्दो व्यवस्था नहुँदा आकाशेपानीमा भर पर्न विवश छन् । कृषि ज्ञान केन्द्र, सिरहाका अनुसार, जिल्लामा कूल ५४ हजार हेक्टर धान खेतीयोग्य जमिन रहेकामा हालसम्म मात्र १८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । 

यदि चाँडै पर्याप्त पानी नपरे बाँकी रोपाइँ ढिलो हुने र यसको प्रत्यक्ष असर उत्पादनमा पर्ने कृषि विज्ञहरूको भनाइ छ । तर, मौसमविद्हरूका अनुसार मधेसका सबै स्थानमा मनसुन पूर्ण रूपमा सक्रिय हुन अझै केही दिन लाग्नेछ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *