काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार बनाउनै पर्ने आवश्यकता परेर बनेको बताएका छन् ।
आईतवार राष्ट्रिय सभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले मुलुकमा स्थिरता र स्थायित्व बिना सुशासन र विकासको गतिलाई अगाडी बढाउन नसकिने बताउँदै विभिन्न महत्वपूर्ण विषयहरूलाई सम्बोधन गर्न अहिलेको सरकार बनेको जिकिर गरेका हुन् । प्रधानमन्त्री ओलीले वर्तमान व्यवस्थालाई कार्यान्वयन गर्दै समाजमा रहेको गरिबी र पछौटोपन हटाउने सङ्कल्पका साथ संविधान जारी गरेको स्मरण गरे ।
प्रधानमन्त्री ओलीले संविधानले सामाजिक न्याय, समानता, मौलिक हकहरू र राज्यका निर्देशन सिद्धान्त र नीतिहरू सुनिश्चित गरेको बताउँदै तिनीहरूलाई सम्बोधन गर्नुपर्ने आजको आवश्यकता दुई ठूला दल एक ठाउँमा आएको दाबी गरे ।
प्रधानमन्त्री ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनताको आकांक्षाहरूलाई पूरा गर्ने विश्वास समेत व्यक्त गरे ।