समाज

हुम्ला विपद् घटना : तत्काल राहत र उद्धारका लागि आग्रह

हुम्ला विपद् घटना : तत्काल राहत र उद्धारका लागि आग्रह

काठमाडौं । सांसदहरुले हुम्लास्थित नाम्खा गाउँपालिका–६ तिलगाउँमा एक्कासी आएको लेदोसहितको पहिरोका कारण प्रभावितलाई तत्काल राहत र उद्धारका पहल गर्न सरकारलाई आग्रह गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा राहत र उद्धारमा ढिलासुस्ती भइरहेको भन्दै समयमा नै राहत तथा पुनःउद्धार गर्नका लागि उनीहरुले ध्यानाकर्षण गराएका हुन् । 

सांसद ज्ञानबहादुर शाहीले हुम्लामा गएको लेदोसहितको पहिराका कारण पीडित भएका जनतालाई अहिलेसम्म उद्धार नगरिएको भन्दै चाँडोभन्दा चाँडो उद्धार गर्नका लागि आग्रह गरे । “पहिरो गएको आज पाँच दिन नाघिसक्दा पनि राहतको कुनै टुङ्गो छैन । मन्त्री र नेता अनावश्यक हेलिकप्टरमा अरू बेलामा हिँड्न सक्ने तर जनताको दुःखमा चाहिँ हेलिकप्टर किन प्रयोग हुँदैन ? कर्णालीको जनतालाई अत्याचार गर्न बन्द गरियोस्,” उनले भने । 

सांसद सूर्यकुमारी श्रेष्ठले पनि हुम्लामा गएको पहिरो पीडितलाई समयमा नै राहतको व्यवस्था गर्नका लागि आग्रह गरिन् । सांसद डा. स्वर्णिम वाग्लेले तनुहँमा बन्दै गरेको दोस्रो जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा ढिला गर्न नहुने बताएका छन् । 

सांसद सीताकुमारी रानाले तीन दिन वर्षाको सम्भावना रहेकाले यसबाट हुने क्षतिबाट बच्न सर्वसाधरणलाई आग्रह गर्दै पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन आग्रह गरेकी छन् । 

सांसद सीता मिजारले सरकारी प्रणालीलाई विद्युतीकरण गर्न जरुरी रहेको बताइन् । सांसद सुनिता बरालले नेपालको आर्थिक विकासमा सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् । सांसद सुमना श्रेष्ठले मिटरब्याजपीडितलाई समयमा नै न्याय दिनुपर्ने र पीडितको समस्या समाधान गर्नुपर्नेमा जोड दिइन् । 

सांसद सुशीला सिर्पाली ठकुुरीले विदेश जाने संख्या बढिरहेको भन्दै स्वदेशमा नै रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । सांसद सुशीला श्रेष्ठले सबै सुशासन कायम नगर्ने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनका लागि सुझाव दिइन् भने सांसद सुहाङ नेम्वाङले योजना बनाउनुभन्दा पनि योजनाको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 

सूर्यप्रसाद ढकालले विद्युत् प्राधिकरणको घाटाबारे यथार्थ सदनमा प्रस्तुत गर्नका लागि आग्रह गरे । सांसद सूर्यबहादुर थापाले बजेट विनियोजनका क्रममा निर्वाचित प्रतिनिधिले ल्याएका योजना समाहित गर्न माग गरे । 

सांसद हर्कमाया विश्वकर्माले झापाको बिर्तामोडमा भत्किएको पुल निर्माण हुन नसक्दा वर्षाको समयमा एम्बुलेन्ससम्म आवतजावत गर्न असहज हुने भन्दै समयमा नै निर्माण अगाडि बढाउन सरकारलाई आग्रह गरिन् । 

सांसद हरि ढकालले राप्ती नगरपालिकामा बेथितिले सीमा नाघेको आरोप लगाउँदै नौ महिनामा चारजना अधिकृत परिवर्तन भई अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको भन्दै तत्काल पठाउन माग गरे । 

सांसद हेमराज राईले सगरमाथा संवादको सफल आयोजना गरेर वातावरणीय संरक्षणका लागि सामूहिक प्रतिबद्धताका लागि विश्वको ध्यानाकर्षण भएको बताए । सांसद ज्ञानु बस्नेत सुवेदीले प्रि मनसनु शुरु भएसँगै लेदोसहितको पहिरो गएको भन्दै विपद्का घटना बढ्न सक्ने भन्दै उद्धारका लागि सरकारले केही तयारी गर्न नसकेको बताइन् । 
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *