काठमाडौं । गृह मन्त्री रमेश लेखक र खानेपानी मन्त्री प्रदीप यादवले वीरगन्जस्थित नारायणी अस्पतालको अवलोकन गरेका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका चिकित्सक टोलीसहित अस्पताल पुगेका मन्त्रीद्वयले उपचाररत हैजाका विरामीका अवस्थाबारे जानकारी लिएका हुन् ।
गृह मन्त्री लेखकले आइतबार बिहान नारायणी अस्पतालमा उपचारत बिरामी तथा अस्पताल प्रशासन र पर्सा जिल्लाको जिल्ला सुरक्षा समिति लगायतसँग भेटघाट गर्ने छन् । पर्साको वीरगन्जमा एक सातादेखि फैलिएको हैजा अझै नियन्त्रणमा आउन सकेको छैन । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार वीरगन्ज महानगरपालिकामा हैजाका कारण ६ सयभन्दा बढी बिरामी परेका छन् ।
संक्रमणले वीरगन्ज महानगरपालिका अस्तव्यस्त बनेको छ । लगातार पातलो दिसा हुने, बान्ता आउने, पेट दुख्ने, मिर्गौलामा समस्या देखिने र अर्धचेत हुने समस्या लिएर दैनिक ५० जना बिरामी नारायणी अस्पताल पुग्ने गरेका छन् ।
हैंजाका बिरामी बढेपछि नारायणी अस्पतालमा शैय्याको अभाव भएको छ । शैय्याको अभावमा बिरामीहरुलाई भुइँमा राखेर उपचार गर्न थालिएको जनाइएको छ ।