काठमाडौं । नेपालले जनस्वास्थ्यमा ऐतिहासिक सफलता हात पार्दै रूबेला रोग निवारण गरेको छ ।
विश्व स्वास्थ्य संगठनले सोमबार नेपालबाट रूबेला रोग निवारण भएको घोषणा गर्दै नेपाललाई दक्षिण–पूर्वी एसिया क्षेत्रको छैटौँ रूबेला मुक्त राष्ट्रको मान्यता दिएको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार यो उपलब्धि नेपालले खोपबाट बच्न सकिने रोगविरुद्धको सशक्त र निरन्तर प्रयासका कारण सम्भव भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालले क्षेत्रीय लक्ष्यभन्दा अघि रूबेला निवारण गर्न सफल भएको उल्लेख गर्दै यो सफलता सम्पूर्ण स्वास्थ्य प्रणालीको सामूहिक प्रयासको उपलब्धि भएको बताएका छन ।
नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रमुख डा. राजेश पाण्डवले नेपाललाई रूबेला निवारणको सफलतामा बधाई दिँदै यसलाई जनस्वास्थ्य क्षेत्रमा ऐतिहासिक उपलब्धि भनेका छन् । रूबेला भाइरसको संक्रमण विशेष गरी गर्भवती महिलाका लागि खतरनाक मानिन्छ ।
साउन ६ देखि ८ गतेसम्म भएको क्षेत्रीय प्रमाणीकरण आयोगको बैठकले नेपालको रोग निगरानी प्रणाली र खोप कवरेज दरको समिक्षा गरेपछि नेपाललाई रूबेला निवारण भएको देशको रूपमा प्रमाणित गर्ने सिफारिस गरेको थियो ।
यसअघि भुटान, उत्तर कोरिया, माल्दिभ्स, श्रीलंका र टिमोर–लेस्टेले रूबेला निवारण गरेका थिए । नेपालले सन् २०१२ मा ९ महिना देखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै रूबेला खोप अभियान शुुरु गरेको थियो ।
सन् २०२४ सम्ममा नेपालले पहिलो मात्रा रूबेला खोप ९५ प्रतिशतभन्दा बढी बालबालिकामा पुर्याउन सफल भएको थियो ।