काडमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले गाईजात्रा पर्वको शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल मार्फत गाईजात्रा मनाउनेहरूका परिवारमा छिट्टै शोक निवारणको कामना गर्दै यस पर्वलाई व्यङ्ग्यविनोदका रूपमा मनाउनेहरूलाई पनि स्वस्थ मनोरञ्जन प्राप्तको कामना गरेका हुन् ।
प्रधानमन्त्री ओलीले मध्यकालीन समयमा नेवारी परम्पराबाट शरु भएको गाईजात्रा पर्वलाई प्रताप मल्लको समयदेखि देशैभर मनाउन थालिएको उल्लेख गरेका छन् ।
ओलीले सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट सान्त्वनातर्फ ल्याउँदै हल्का पार्न र पीडा कम गर्न शुरु भएको पर्व समयक्रममा हास्यव्यङ्ग्यतर्फ रूपान्तरित भएको बताएका छन् ।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ ।