गुल्मी । रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पताललाई एक करोड भन्दा बढी मूल्यको स्वास्थ्य उपकरणहरू प्रदान गरेको छ ।
गुल्मी अस्पतालमा मिर्गौलाको डायलाइसिस सेवालाई अझै प्रभावकारी बनाउन एक कार्यक्रमबीच रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले गुल्मी अस्पतालका अध्यक्ष गोपाल पाण्डेयलाई तीन वटा डायलाइसिस मेसिन र एउटा बेहोस बनाउने मेसिन प्रदान गरेका हुन् ।
यस अघि नगरपालिकाले भारतीय दुतावाससँग समन्वय गरेर पाँच वटा उपकरण अस्पताललाई प्रदान गरिसकेको छ । जसका कारण डेढ वर्षदेखि जिल्लामा नियमित रूपमा मिर्गौलाको डायलाइसिस सेवा सञ्चालन गरिएको छ ।
गुल्मी अस्पतालबाट अहिलेसम्म १९ जना बिरामीहरूले मिर्गौलाको डायलाइसिस सेवा पाइरहेको नगर प्रमुख पन्थीले बताए । नयाँ मेसिन उपलब्ध गराएसँगै अबदेखि ४० जना बिरामीलाई सेवा प्रदान गर्न सकिने लक्ष्य रहेको अस्पताल विकास समितिले जनाएको छ ।
नगरपालिकाको नीति तथा कार्यक्रममा ‘गुल्मी अस्पताल मेरो अस्पताल’ भन्ने उद्घोष सहित जनशक्ति, उपकरण र व्यवस्थापनमा आवश्यक सहयोग र समन्वय गर्दै आईरहेको छ । नगरपालिकाले दम तथा निमोनियाका बिरामीहरुलाई घरमै पुगेर सेवा दिने उदेश्यले अक्सिजन कन्सनटेटर मेसिन प्रदान गरेको छ ।