समाज

नागढुंगा सुरुङमार्गबाट यात्रुवाहक सवारीसाधन बाहिरिन पाउने

नागढुंगा सुरुङमार्गबाट यात्रुवाहक सवारीसाधन बाहिरिन पाउने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले दशैं अवधिमा काठमाडौं बाहिर जाने यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । 

शनिबार सिंहदरबारमा बसेको यातायात व्यवस्था विभाग, सुरक्षा निकाय, यातायात व्यवसायी लगाएत सरोकारवाला निकायसँगको बैठकमा दशैं अवधिमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुबाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग मार्फत मात्र बाहिर जान दिने र दशैपछि पुनः प्रवेशको व्यवस्था गर्न सम्बन्धित पक्षसँग छलफल गरि आवश्यक निर्देशन दिने निर्णय भएको हो । 

मन्त्री घिसिङले दशैंलाई मध्यनजर गर्दै सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्न निर्देशन दिइएको बताए । बैठकमा बुटवल–नारायणघाट सडक खण्डको दाउन्ने क्षेत्रमा दशैं अवधिभर ठूला मालवाहक सवारीसञ्चालनमा रोक लगाउने निर्णय भएको छ ।   

बुटवल–नारायणघाट सडक खण्डमा २४ घण्टा दुईतर्फी यातायात सञ्चालन गर्ने, नारायणघाट–मुग्लिन सडकको तुइन खोला क्षेत्रमा भएको अवरोध तत्काल हटाई सञ्चालनमा ल्याउने र तातोपानी नाकासम्मको मुख्य सडक दशैंअघि सञ्चालनमा ल्याउने गरी सडक विभागलाई निर्देशन दिइएको छ । बैठकले देशभरका सडक अवस्थाबारे २४ घण्टा निगरानी गर्न, आवश्यक समन्वय र व्यवस्थापनका लागि फोकल पर्सनसहित कन्ट्रोल रुम सञ्चालनमा ल्याउन सडक विभागलाई निर्देशन दिने निर्णय पनि गरेको छ । 

बैठकले सार्वजनिक सवारी साधनलाई सुरक्षित र प्रविधिमैत्री बनाउन कार्यविधि तथा निर्देशिका तयार गरी छिट्टै मन्त्रालयमा पेश गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *