काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम समयमा नै सम्पन्न गर्नुपर्ने बताएका छन् ।
पारिवारिक भेटघाटका लागि शनिबारदेखि चितवनमा रहेका दाहालले निर्माणाधीन रंगशालाको निरीक्षण र अनुगमनपछि कामदार थपेर भए पनि तोकिएको समय अघि नै काम सक्नुपर्ने बताएका हुन् ।
रंगशालाले नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने भन्दै उनले निर्माण कम्पनीलाई काम समयमा नै सकेर हस्तान्तरण गर्न निर्देशन समेत दिए ।
अनुगमनका क्रममा भरतपुर महानगरपालिकाका डिभिजनल इन्जीनियर सन्तोष आचार्यले रंगशाला निर्माणको काम ३० प्रतिशत सम्पन्न भएको जानकारी दिए । उनले सामान नपाउने जस्ता समस्या हुँदा पनि काम निरन्तर भईरहेको बताए ।
भरतपुर महानगरपालिका–१५ मा संघ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रंगशाला निर्माण गरिरहेको हो । धुर्मुश–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिदैं काम अघि वढाएको हो ।
रंगशाला निर्माणको काम हिमालयन कालिञ्चोक बिबिआर जेभीले गरिरहेको छ ।