समाज

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे नयाँ आगमन कक्ष सञ्चालन

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे नयाँ आगमन कक्ष सञ्चालन

काठमाडौं । स्थापनाको करिब ५० वर्षपछि भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिकतर्फको आगमन कक्षलाई फरक भवनमा स्थानान्तरण गरी सेवा शुुरु गरेको छ । 

यसअघि आगमन र प्रस्थान दुवै सेवा एउटै भवनबाट सञ्चालन हुँदै आएकोमा अब यात्रुको सुविधालाई ध्यानमा राख्दै यो परिवर्तन गरिएको हो ।

पुरानो व्यवस्थामा यात्रुहरूलाई लिन आउने आफन्तहरूलाई घाम, हावाहुरी र वर्षाबाट जोगिने ठाउँ थिएन । तर, अब नयाँ आगमन कक्षमा आगन्तुकका लागि वातानुकूलित एसी प्रतीक्षालय लगायतका सुबिधा थपिएका छन् । 

दैनिक औसत २० वटा उडान हुँदै आएको यस विमानस्थलबाट हाल पोखरा र काठमाडौंका लागि मात्र उडान भइरहेका छन् । विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतका अनुसार, गत वर्ष २०२४ मा करिब ८ लाख आन्तरिक यात्रुहरूले यस विमानस्थलको सेवा लिएका थिए ।

नयाँ आगमन कक्ष पुरानो भवनको पश्चिमपट्टि रहेको साविकको कार्गो भवनलाई पुनर्निर्माण गरी तयार पारिएको हो । विमानस्थल प्रशासनले यात्रु सुविधाका लागि अन्य सुधारका कामहरू पनि अघि बढाएको छ । 

ब्यागेज ह्यान्डलिङ सिस्टमको लागि पनि टेन्डर गरिसकिएको छ र करिब छ महिनाभित्र यो प्रणाली पनि आगमन कक्षबाटै सञ्चालनमा आउने बताइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *