काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे संसद् भवन नयाँवानेश्वरमा बस्नेछ ।
आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको हो। बैठकमा उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
विनियोजन विधेयक भनेको सरकारको वार्षिक बजेट कार्यान्वयन गर्न संसदबाट पारित गरिनुपर्ने कानूनी दस्तावेज हो । यो पारित भएपछि विभिन्न मन्त्रालय, निकाय तथा कार्यक्रमका लागि विनियोजित रकम खर्च गर्न कानूनी अनुमति मिल्छ ।
आजको संसद बैठकमा अर्थ मन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तालिका समेत रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
त्यसअघि बैठकमा विभिन्न मन्त्रालयका बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्युसूची छ ।