काठमाडौ । लगातारको अविरल वर्षापछि इलामका विभिन्न स्थानमा गएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पु¥याएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा गएको पहिरोका घटनामा १८ जनको मृत्यु भएको पुष्टि भएको छ । सूर्योदय नगरपालिका– १ मानेभञ्ज्याङमा ५, माङसेवुङ गाउँपालिका– १ पाटिगाउँमा ३, देउमाई नगरपालिका– ५ धारेमा १, देउमाई– ५ धुसुनेमा २, फाकफोकथुम गाउँपालिका– ३ रातमाटेमा १ र इलाम नगरपालिका– ५ घोसगाउँमा ६ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका–६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पुरिँदा ६ जनाको ज्यान गएको छ । यसैगरी सन्दकपुर गाउँपालिका–१, छाँगेमा एकजनाको मृत्यु हुनुका साथै एकजनाको अवस्था गम्भीर छ । माइजोगमाई गाउँपालिका–६, प्याङमा एकैघरका ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । यस्तै, सन्दकपुर गाउँपालिका–३, सुलुबुङमा एकजना, माङ्सेबुङ गाउँपालिका–१ मा १ गर्भवती महिला र १ पुरुष गरी २ जना गम्भीर घाइते छन् । इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार जिल्लाको माङसेबुङ मानेभन्ज्याङ, देउमाईसहित इलाम नगरपालिकाका विभिन्न स्थानमा पहिरोले पुरिँदा केही नागरिक बेपत्ता भएका छन् । पहिरोले दर्जनौं घरमा क्षति पु¥याएको छ । पहिरो र बाढी प्रभावित क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ । प्रहरीका अनुसार अविरल वर्षाका कारण पहिरोमा परी तीन जिल्लाका विभिन्न ठाउँमा २२ जनाको मृत्यु भएको छ । शनिबार र आइतबार पहिरोमा परी उदयपुर, रौतहट र इलाममा २२ जनाको मृत्यु भएको हो । रौतहट तीनजनाको पहिरोमा परेर मृत्यु भएको छ । उदयपुरमा एकजनाको मृत्यु र २१ जना बेपत्ता छन् ।