अभिलेख

रोशी खोलामा आएको बाढीले बीपी राजमार्गअन्तर्गतका विभिन्न स्थानमा सडक कटान

रोशी खोलामा आएको बाढीले बीपी राजमार्गअन्तर्गतका विभिन्न स्थानमा सडक कटान

काठमाडौ । निरन्तर वर्षापछि रोशी खोलामा आएको बाढीले बीपी राजमार्गअन्तर्गतका विभिन्न स्थानमा सडक कटान गरेको छ । रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाका पाँच स्थानमा सडक क्षति भएको स्थानीय प्रशासनले जनाएको छ । बाढीले सबैभन्दा धेरै क्षति रोशी गाउँपालिका–९ बोक्सिकुनामा पु¥याएको छ । जहाँ खोलाले १५० देखि २०० मिटरसम्म सडक कटान गरेको छ । त्यस्तै, रोशी गाउँपालिकाभित्रै रोशी–७ घुमाउनेमा १५ मिटर, रोशी–११ बुलढंगा र डालाबेसीमा करिब १००–१०० मिटर र सोही वडाको पिप्लेमा करिब ५० मिटर सडक कटान भएको छ । नमोबुद्ध नगरपालिका–६ चौकीडाँडामा पनि २० मिटर सडक बाढीले बगाएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।सडक कटानका कारण केही स्थानमा सवारी आवागमन प्रभावित भएको र मर्मत कार्यको तयारी भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ  । यसैविच मेची करिडोरअन्तर्गत केचना–कञ्चन्जंगा रोडको माइखोलाको पुल बाढीले बगाएको छ । मेची करिडोरकै पुवाखोलाको बेली ब्रिज पनि बाढीले बगाएको सडक विभागले बताएको छ । विभागका अनुसार जोगमाईको बेली ब्रिज पनि बगेको छ । सडक विभागले आफ्नो जनशक्ति पुल बगेको स्थानमा परिचालन गरिएको बताएको छ ।  मेची राजमार्गमा इलामदेखि पाँचथरसम्म कम्तीमा ३० भन्दा बढी ठाउँमा ठूलो–सानो पहिरो गएको छ । पहिरोका कारण मेची राजमार्ग बन्द भएको सडक विभागले जानकारी दिएको छ । ता धरान–धनकुटा सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । मुलघाट र नमस्ते झरना नजिक पहिरो र लेदो माटो थुप्रिएकाले सवारी आवागमन बन्द भएको हो ।धरानबाट धनकुटातर्फ जाँदै गरेका केही सवारी साधन धरानतर्फ नै फर्किएका छन् । डोजर प्रयोग गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत हिले–पाख्रिबास–लेगुवा सडकखण्डमा समेत क्षति पुगेकाले त्यहाँसमेत सवारी आवागमन बन्द छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सिमा क्षेत्र रहेको साँगामा ढुंगा र लेदोसहितको पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ ।शनिबारदेखि निरन्तर परेको वर्षाका कारण भक्तपुरको सूर्यविनायक नगरपालिका–१० स्थित झोलुङ्गे पुलमा ढुंगा र लेदो सहितको पहिरो खसेको हो ।।