दार्चुला । अविरल वर्षाका कारण टिङ्कर खोलामा आएको बाढीले दार्चुलाको व्यास गाउँपालिका–१ स्थित तीनवटा पुल तथा बाटो बगाउँदा नेपालका अन्तिम गाउँ टिङ्कर र छाङरुसँगको सम्पर्क टुटेको छ ।
बुधबार राति करिब ८ बजेतिर आएको बाढीले काठेपुल र गोरेटो बाटो बगाउँदा दुवै गाउँसँगको सम्पर्क विच्छेद भएको हो ।
बाढीको त्रासले छाङरुस्थित गागामा रहेको सशस्त्र प्रहरी बलको गुल्म, नेपाली सेना र स्थानीयले सुत्न समेत नपाएको स्थानीय र सुरक्षाकर्मीले बताएका छन् ।
छाङरुको गागामा रहेको काठेपुल, अपिनाम्पा संरक्षण क्षेत्रको रेञ्जपोस्ट जाने नाम्पा खोलामा रहेको काठेपुल र छाङरुबाट टिङ्कर जाने काठेपुल बगाएको सशस्त्र प्रहरीले जनाएको छ । बाढीले अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन ।
काठेपुल बगाउँदा छाङ्रुबाट टिङ्कर गाउँ जाने बाटो अवरुद्ध भएको छ । टिङ्कर गाउँमा फोन सम्पर्क समेत हुन् नसक्दा बाढीले गरेको क्षतिको विवरण आउन सकेको छैन । दार्चुलामा बुधबार दिउँसोदेखि लगातार वर्षा भइरहेको छ ।