बागलुङ । यस वर्ष निसेलढोर र ढोरपाटनमा स्याउ नफलेपछि किसान चिन्तित बनेका छन् ।
निसीखोला गाउँपालिका–५ निसेलढोरको कुँडे, गाभा, काङ लगायतका स्थानमा स्याउ उत्पादन नभएपछि किसान चिन्तित भएका हुन् ।
निसेलढोरसँगै ढोरपाटन नगरपालिका–९ को नवी, भूजी, स्यालपाखे लगायतका क्षेत्रमा पनि स्याउ उत्पादनमा गिरावट आएको छ । स्याउ उत्पादन नहुनुको मुख्य कारण जलवायु परिवर्तन मानिएको छ ।
स्याउ उत्पादन नहुँदा ढोरपाटनमा किसानले लाखौँ नोक्सानी व्यहोर्नु परेको छ । इटालियन फुजी जातको बाहेक अन्य जातको स्याउ फलेको छैन ।
बागलुङ जिल्लाभर ५६ दशमलब ९२ हेक्टर क्षेत्रमा स्याउ खेत हुने गरेको छ भने वर्षेनी ३ सय ३१ दशमलब २ मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको थियो ।