म्याग्दी । म्याग्दीको बेनी नगरपालिका– ५ गाजने गाउँमा परीक्षणको रुपमा गरिएको स्याउ खेतीले उत्पादन दिन थालेपछि कृषकहरु उत्साहित बनेका छन् ।
समुद्री सतहदेखि २ हजार ५० मिटर उचाईमा रहेको गाजनेमा चार वर्षअघि स्थानीयले परिक्षणको रुपमा स्याउका विरुवा रोपेका थिए । २४ घरधुरीको बसोबास रहेको गाजने गाउँमा रोपेका १ सय वटा स्याउका बोटहरुमध्ये अधिकाँशले फल दिन शुुरु गरेका छन ।
गाउँमा अधिकाँशले पाँचदेखि १५ बोटसम्म स्याउका विरुवा परीक्षण खेतीको रुपमा लगाएका थिए । विरुवा रोपको चार बर्षदेखि नै बोटमा फल लागेको छ । परीक्षणको रुपमा शुुरु गरेको स्याउ खेती सफल भएपछि अब गाउँभर यसलाई व्यावसायिक रुपमा विस्तारमा लैजाने तयारी छ ।
गाजने गाउँमा यस अघि वि.स. २०४२ सालमा समेत स्याउ खेती गरिएको थियो । सार्वजनिक पाखोमा सामुहिक रुपमा गरिएको स्याउ खेती तत्कालिन समयमा मलजल र स्याहारको अभाबले मासिएको थियो । चिसो हावापानी रहेकाले यस क्षेत्रमा स्याउ खेतीको सम्भावना रहेको छ ।