अछाम । अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका–७ स्थित तोषी क्षेत्र अन्तर्गत रहेको तितौडा शिवगुफा र मन्दिरको संरक्षणका लागि गाउँपालिकाले विशेष पहल थालेको छ । गाउँपालिका अध्यक्ष डम्बर बिसी, वडा नम्बर–७ का अध्यक्ष भीम बहादुर चलाउने, स्थानीय पत्रकार दीपक धमला र स्थानीय जनप्रतिनिधिहरू तथा प्राविधिक टोलीले हालै स्थलगत अनुगमन गरी संरचनाको अवस्था, सुधारको उपाय र आवश्यक बजेटको प्रारम्भिक मूल्याङ्कन गरेका छन् ।
तितौडा शिवगुफा र यससँगै रहेको मन्दिर धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । स्थानीय बासिन्दा मात्र नभई बाह्य पर्यटकहरू पनि यो क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र आध्यात्मिक वातावरणका कारण आकर्षित हुने गरेका छन् ।
विशेष गरी पूर्णिमा एकादशीजस्ता धार्मिक पर्वहरूमा यहाँ भक्तजनहरूको उल्लेखनीय भीड लाग्ने गर्दछ । त्यसै गरी, विवाह र वर्तिबन्धजस्ता धार्मिक तथा सांस्कृतिक कार्यहरू पनि यहाँ सम्पन्न गरिन्छ । जसले यस क्षेत्रको धार्मिक महत्त्वलाई अझै बढाएको छ ।
गुफा र मन्दिरको संरचना समयसँगै जीर्ण हुँदै गएकाले यसको संरक्षण र पुनः निर्माण अपरिहार्य भएको स्थानीय बासिन्दाहरू बताउँछन् । गाउँपालिकाले तितौडा क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न दीर्घकालीन योजना अघि सारेको छ । योजनामा पूर्वाधारको स्तरोन्नति, आवागमन सहज बनाउने पहुँच मार्गको सुधार, सूचना केन्द्रको स्थापना, पर्यटक मैत्री सुविधाहरूको विस्तार, विश्रामका लागि प्रतीक्षालय निर्माण तथा पर्यटकहरूलाई आकर्षित गर्न पीङ जस्ता संरचनाको विकास समावेश गरिएको छ ।
यस पहलले तितौडा क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने मात्र होइन, स्थानीय रोजगारी सिर्जना, सांस्कृतिक पहिचानको संरक्षण र आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ । स्थानीय बासिन्दा र सरोकारवालाहरूले पनि यो प्रयासलाई स्वागत गर्दै शीघ्र कार्यान्वयनको अपेक्षा व्यक्त गरेका छन् ।