काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले नेपाल सरकारले आयोजना गरेको सगरमाथा संवाद जलवायु परिवर्तन न्युनिकरणका सवालमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिवद्धता सार्वजनिक गर्न महत्वपूर्ण अवसर बन्ने विश्वास गरेका छन् ।
बिहीवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद सरस्वती सुब्बाले सगरमाथा संवादले जलवायु परिवर्तनले पार्ने प्रभावका विषयमा बुझाइ बढाउन, जलवायुजन्य जोखिम न्युनिकरणका लागि साझा योजना निर्माण गर्न महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।
उनले जलवायु परिवर्तनको असरबारे समुदायदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा देखिएका समस्या सगरमाथा संवादले सम्बोधन गर्नसक्ने दावी गरिन् ।
नेकपा एमालेका सचेतक सुनिता बरालले सगरमाथा संवादले आजको युगमा जलवायु संकटको मारमा परिरहेका साना, विकासोन्मुख र हिमाली राष्ट्रहरुको साझा आवाज बन्ने दृढ योजना बोकेको बताइन् ।
उनले विगतका संवादहरुमा उठाइएका विषयलाई जीवन्त राख्दै यसपटक पनि जलवायु परिवर्तन, जलवायु न्याय, दिगो विकास र समावेशी सहअस्तित्व जस्ता महत्वपूर्ण विषयहरुमा संवाद केन्द्रित रहने जानकारी समेत दिइन् ।