काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनअन्तर्गत बाँकेको बानियाभार क्षेत्रमा देखिएको विवाद समाधान गर्न निर्देशन दिएका छन् ।
मन्त्री खड्काले आज आयोजना प्रमुख रविकुमार चौधरीलाई मन्त्रालयमा बोलाएर आयोजना विस्तारका क्रममा उक्त क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका हुन् ।
बाँकेको बैजनाथ गाउँपालिका–४ बानियाभार क्षेत्रमा स्थानीयको अवरोधका कारण तीन विद्युत् टावर निर्माण हुन नसकेपछि आयोजना निर्माणका क्रममा भइरहेको ढिलाइका बारेमा मन्त्री खड्काले चासो राखेका छन् ।
“स्थानीयवासीले राखेका मागलाई उचित सम्बोधन गरेर आयोजनालाई तत्काल अगाडि बढाउनूहोस्”, मन्त्री खड्काले भन्छन्, “आयोजनाभित्र परेका घरलाई उचित क्षतिपूर्ति दिँदा पीडितको पुनर्वासको सुनिश्चितता गर्नुपर्छ ।”