काठमाडौं । साङ्घाइ को–अपरेशन अर्गनाइजेशन (एससिओ) द्वारा चीनको झेजियाङ प्रान्तको निङ्बो सहरमा आयोजित पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का स्वदेश फर्किएका छन् ।
उनले बैठकमा चीनसँग ऊर्जा सहकार्यका विषयमा विभिन्न छलफल भएको जानकारी दिए । उनले आफ्नो चीन भ्रमण उपलब्धिमूलक भएको दाबी समेत गरे । मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रमा भविष्यमा थप सहकार्य र योगदानका लागि प्रतिबद्ध रहेको जनाउँदै बैठकमा नेपालले ऊर्जा विकासको क्षेत्रमा लिएको लक्ष्यका बारेमा आफूले बैठकलाई अवगत गराएको जानकारी दिए ।
यही असार ९ गतेदेखि १३ गतेसम्म चलेको उक्त बैठकमा आयोजक राष्ट्र चीनसहित भारत, इरान, काजकिस्तान, पाकिस्तान, रसिया, ताजकिस्तान, उर्वेस्थानलगायत नौ सदस्य देश, तीन पर्यवेक्षक देश र १४ संवाद देशका ऊर्जामन्त्रीको सहभागिता रहेको जनाइएको छ ।
उनले चीनमा रहँदा त्यहाँ रहेका नेपाली समुदायसँग पनि भेटघाट गरेका थिए। मन्त्री खड्का उक्त बैठकमा भाग लिन असार ९ गते राति चीन प्रस्थान गरेका थिए ।