काठमाडौ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका छन् । सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री घिसिङले उद्योगहरुबाट विद्युत महशुल उठाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन् । उनले नेपाल आर्थिक र राजनीतिक रुपमा संकटमा रहेका बेला व्यवसायी, देशभित्र र बाहिर भएका नागरिकले सहयोग गर्नुपर्ने स्पष्ट पारे । मन्त्री घिसिङले पुनः निर्माणसँगै तोकिएको समयमा निर्वाचन गराउनुपर्ने सरकारको दायित्व रहेको भन्दै आफु द्रुत गतिमा देशको सेवामा लाग्ने प्रतिवद्धता पनि जनाए ।
मन्त्री घिसिङले सार्वजनिक संरचनामा भएको क्षतिको आंकलन गर्दै तत्कालै पुननिर्माणको काम अघि बढाइने बताए । उनले पुनःनिर्माणका लागि अर्थमन्त्रालयको सहमतिमा विशेष कोष स्थापना गरी सबैतिरबाट सहयोग लिने पनि उल्लेख गरे । मन्त्री पदमा रहदा आफुले पाउने सवै पारिश्रमिक कोषमा दाखिला गर्ने घोषणा पनि उनले गरे । घिसिङले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई कडाईका साथ कार्यान्वयन गरिने स्पष्ट पारे । मन्त्री घिसिङलाई उर्जाका साथै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।।