काठमाडौं । सरकार आगामी आर्थिक वर्षको २०८२/८३ को बजेट निर्माणमा लाग्दै गर्दा निजी क्षेत्रको अग्रणी संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी प्रोत्साहन हुने खालको बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आगामी बजेटका सन्दर्भमा आईतवार राखेको प्रि बजेट छलफलमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भइसकेको र त्यसले निजी क्षेत्र प्रवद्र्धनलाई सकारात्मक रुपमा लिएको र आगामी वर्षको बजेट लगानीलाई प्रोत्साहन गर्ने गरी आउनेमा निजी क्षेत्रले अपेक्षा गरेको बताए । अध्यक्ष ढकालका अनुसार यस पटकको बजेटले सामाजिक न्याय सहितको खुला अर्थतन्त्रको बिस्तार, नयाँ चरणको आर्थिक सुधारका लागि संरचनात्मक परिवर्तन, निजी क्षेत्र प्रवद्र्धन, शुसासन अभिवृद्धि एवं राजश्व परिचालन तथा सार्वजनिक खर्चको प्रभावकारिता जस्ता पक्षलाई आफ्ना उद्देश्य र प्राथमिकतामा समेटिनु पर्दछ ।
साधारण खर्च घटाइ विकास खर्च बढाउने र सर्वसाधारणको क्रयशक्ति एवं उद्यमीको उत्पादन तथा उत्पादकत्व बढाउने कार्यक्रम यस पटकका प्रमुख आकर्षण हुनुपर्छ ।
ढकालले नेपाल उद्योग वाणिज्य महासंघले देशभरबाट गरेको अध्ययन अनुसार उद्योग व्यवसाय बिस्तारको बाधकका रुपमा नीतिगत अस्थिरतालाई देखिएको बताए ।
अध्यक्ष ढकालले लगानी बाधकको रुपमा रहेका भूमी, वन, बातावरण, सार्वजनिक खरिद, खनिज र जलविद्युत लगायतका कानुनहरुमा सुधारसहित लगानी संवद्ध एकीकृत कानून बनाई नीतिगत पारदर्शिता र व्यवसायिक सुरक्षाको सुनिश्चितता गरिनुपर्ने समेत बताए