काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटी रित्तो रहेको बताएका छन् ।
मंगलवार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले यसअघि आफू प्रधानमन्त्री हुँदा देशको ढुकुटीमा धेरै पैसा रहेको बताउँदै अहिले पैसा नहुँदा यो काम गर्छु भन्न पनि डराउनुपर्ने स्थिति रहेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले यसअघि प्रधानमन्त्री हुँदा धेरै पैसा रहेकाले जे पनि गर्नुपर्छ भनेर काम शुरु गरेको भन्दै सबै पालिकामा स्वास्थ्य केन्द्रको उद्घाटन गरेको उल्लेख गरे । सोही समयमा निर्माण शुरु भएका ६० भन्दा बढी स्वास्थ्य केन्द्रहरु अहिले सञ्चालनमा रहेको ओलीको भनाई छ । ओलीले एक रुपैयाँ चन्दा उठाएर नेकपा एमालेको पार्टी कार्यालय बनाइदिने सम्मका कुराहरु आएको भन्दै त्यो भन्नमा र गर्नमा फरक हुने उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले आफू तीन वर्षको अन्तरालमा प्रधानमन्त्री हुँदा विकासको काम आफूले छोडेकै ठाउँमा रोकिएको पनि बताए । पैसाको कमीले पहिला जस्तो यो पनि गर्छु, त्यो पनि गर्छु भन्ने आँट गर्न नसकिरहेको भन्दै ओलीले अर्थतन्त्र अब ओरालो नलाग्ने दाबी गरे ।