काठमाडौं । प्रधानमन्त्री के.पी. ओलीले जेनजी पुस्ताले सोमबार आह्वान गरेको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै घटनाले आफूलाई मर्माहत बनाएको बताएका छन् ।
घटनाबारे आफ्नो भनाइ सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेगरी छानबिन समिति गठन गर्ने बताएका हुन् । घटनाका मृतकको परिवारलाई सरकारले उचित राहतको व्यवस्था गर्ने पनि प्रधानमन्त्रीको भनाइ छ ।
सम्पूर्ण घटनाक्रम र क्षति एवं त्यसको अवस्था र कारण समेतको छानबिन र विश्लेषण गरी आगामी दिनमा यस्ता दुर्घटनाहरु हुन नदिन चालिने कदमहरुको सिफारिस समेत गर्नका लागि १५ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी छानविन समिति गठन गरिने उनले बताएका छन ।
प्रधानमन्त्री ओलीले जेनजीले आज शान्तिपूर्ण रुपमा माग राख्नेमा आफूहरु विश्वस्त रहे पनि प्रदर्शनमा विभिन्न स्वार्थ केन्द्रबाट घुसपैठ भएकाले निर्दोस नागरिकले ज्यान गुमाउने अवस्था आएको उल्लेख गरेका छन ।
प्रदर्शनमा भएको घुसपैठले हाम्रा संवैधानिक संस्थाहरुका कार्यालयहरुमा तोडफोड र आगजनी गरी क्षति गर्ने घटना भएको र संस्थाका संरचनाहरु जोगाउने प्रयास गर्दा ज्यान जाने अप्रिय स्थिति उत्पन्न भएको प्रधानमन्त्रीको भनाइ छ । आयोजक संस्था जेनजी स्वयंले प्रदर्शनमा घुसपैठ भएको थाहा पाएर आजको प्रदर्शन सफल भएको र ढिलो नगरी सबैलाई घर फर्कन आह्वान गरिसकेपछि घुसपैठियाहरुले तोडफोड र आगजनी गरेको उनको भनाइ छ ।
सरकारले सामाजिक सञ्जालमा हुने अवाञ्छित कार्यबाट नागरिकलाई जोगाउन विगत एकवर्ष अघिदेखि नै यसलाई नियमन गर्न कम्पनीहरुलाई सूचिकरणका लागि पटक–पटक आग्रह गरेको उल्लेख गर्दै उनले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न सामाजिक सञ्जाल केही दिनका लागि अवरुद्ध हुन पुगेको बताएका छन् ।
सरकारले सामाजिक सञ्जाललाई बन्द गर्ने कुनै नीति नलिएको उनको भनाइ छ ।