समाज

ललितपुरमा जटिल बन्दै खानेपानीको समस्या

ललितपुरमा जटिल बन्दै खानेपानीको समस्या

काठमाडौं । ललितपुरमा खानेपानीको समस्या जटिल बन्दै गएको छ । जिल्लाका आमनागरिकले खानेपानीको समस्याका विषयमा सम्बन्धित वडा र खानेपानी कार्यालयमा निरन्तर गुनासो गर्दै आएका छन् । 

दुई साताअघि ललितपुर महानगरको वडा नं २५ र १८ अर्थात् भैँसेपाटी क्षेत्रका उपभोक्ताको घरका धारामा तीन सातासम्म खानेपानी झरेन । खानेपानी आउने आशमा २१ दिनसम्म रिक्तो धारा हेरेर बसेका उनीहरूले प्रायः दैनिकजसो ललितपुर वितरण केन्द्रमा गएर आफ्ना गुनासा सुनाए । 

त्यतिमात्र होइन, महानगरको वडा नं २२ र २१ अर्थात् बुङ्गमती क्षेत्रका जनताका धारामा पनि लामो समयसम्म पानी आएन । त्यहाँका जनता खानेपानीका लागि घण्टौँ यात्रा गरेर पानीको मूल धाउन बाध्य भए । उनीहरू डोकोमा गाग्री र पानीका बोतल बोकेर खानीपानीको मुहान खोज्न भौतारिए ।

गत वर्षको असोजमा गएको बाढीले सो क्षेत्रको खानेपानी पाइपलाइन विच्छेद गरिदिएको थियो । त्यसबेलादेखि सरकारले खानेपानी समस्यामा ध्यान नदिँदा समस्या झनै जटिल बन्दै गयो र अन्ततः उपभोक्ताले दुःख भोग्नुपरेको हो । 

उल्लेखित क्षेत्रका हुनेखाने उपभोक्ताले ट्याङ्करको पानी किनेर ल्याएर दैनिकी चलाए । त्यतिमात्र होइन पहुँचवाला र विशिष्ट व्यक्तिका घरमा उपत्यका खानेपानी लिमिटेड (केयुकेल) का ट्याङ्करमार्फत पानी पुगे । तर, सर्वसाधारणका भान्सामा न चर्को मूल्यका ट्याङ्करको पानी पुग्न सक्यो न त केयुकेलकै । हजारौँ सर्वसाधारण खानेपानीको प्राकृतिक मुहान खोज्दै हिड्न बाध्य भए । उनीहरू पानी बोक्ने जार, गाग्री र बोतल लिएर सार्वजनिक कुवा र धारामा लाइन बस्न बाध्य भए । यस्ता समस्या उल्लेखित वडाको मात्र होइन, ललितपुर जिल्लाकै हो ।  

घरमा जडान गरिएका धारामा पानी नआएपछि ललितपुरका स्थानीय गुनासो बोकेर दर्जनौँपटक काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ललितपुर शाखा कार्यालयमा धाउँदै आए, अझै धाइरहेका छन् । केही स्थानमा तत्कालका लागि समस्या समाधान भए पनि अधिकांश स्थानका समस्या जिउँको तिउँ छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *