भोजपुर । नागरिकको सहजताका लागि भोजपुरको रामप्रसादराई गाउँपालिकाले वडास्तरमै भत्ता वितरण गरेको छ ।
गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा तथा असक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट दिएको हो । भौगोलिक विकटताका कारण गाउँपालिकासम्म आउन कठिन भएपछि गाउँपालिकाले घुम्ती शिविरमार्फत सेवा प्रदान गरिरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए ।
एकीकृत घुम्ती शिविर मार्फत राष्ट्रिय परिचयपत्र नवीकरण र स्वास्थ्य जाँच सेवा पनि सञ्चालन भइरहेको अध्यक्ष राईले बताए । साउन महिनामै भत्ता वितरण हुनुपर्ने भए पनि गाउँपालिकामा रहेको बैंकको शाखाले जनशक्ति व्यवस्थापन गर्न ढिलाइ गर्दा वितरणमा केही ढिलो भएको उनको भनाइ छ ।
सहज रुपमा वडामा भत्ता पाएपछि बृद्धबृद्धा तथा असक्त नागरिक खुसी भएका छन् । आफ्नै घरछेउबाट भत्ता लिन पाउँदा स्थानीय हर्षित भएका छन । आठ वटा वडामध्ये हालसम्म वडा नं. १ ओख्रेमा १४१ जनालाई सामाजिक सुरक्षा भत्ता, १४ जनालाई राष्ट्रिय परिचयपत्र, वडा नं. २ धोद्लेखानीमा ७२ जनालाई सामाजिक सुरक्षा भत्ता, ४ जनालाई राष्ट्रिय परिचयपत्र र वडा नं. ३ भुल्केमा १३१ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण र ३५ जनाको राष्ट्रिय परिचयपत्र बनाइएको छ ।
गाउँपालिकाका अनुसार अन्य वडामा पनि क्रमशः वितरण गरेर भदौ ११ गते वडा नं. ८ खोक्सिकमा शिविर सम्पन्न हुनेछ ।
