काठमाडौं । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्विरोध चयन भएका छन् ।
समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा शुक्रबार बसेको समितिको बैठकमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो ।
समितिका यसअघिका सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको मात्र उम्मेदवारी परेको थियो ।
बैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसद खतिवडालाई सभापति निर्वाचित गरियोस् भनी राखेको प्रस्तावलाई नेकपा (एमाले) का संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाएका थिए ।
नेपाल विद्यार्थी सङ्घबाट राजनीति शुरु गरेका सांसद खतिवडा हाल कांग्रेसको केन्द्रीय सदस्य छन् । यसअघि पनि उनी ओखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्य थिए ।