जनकपुर । जनकपुरधामस्थित जनकपुर भन्सार कार्यालय पूर्णरुपमा जलेर नष्ट भएको छ ।
गत मंगलबार जेनजीको आन्दोलनको क्रममा अराजक समूहद्धारा भएको आगजनीबाट कार्यालय पूर्ण रुपमा जलेर नष्ट भएको हो । आगजनीबाट कार्यालयको सम्पूर्ण कागजातहरु र जिन्सी सामानहरु जलेका हुन् ।
परिसरभित्र रहेको भन्सार छलिका मोटरसाइकलहरु, जिप तथा कार्यालयको पनि सवारीसाधनहरु पूर्ण रुपमा जलेर नष्ट भएका छन् । यस्तै, भन्सार सुरक्षामा खटिने सशस्त्र प्रहरी बलको दुई थान जिप पनि जलेर नष्ट भएको छ ।
यस्तै, जनकपुरधामस्थित आन्तरिक राजश्व कार्यालय जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट पूर्ण रूपमा जलेर नष्ट भएको छ । गत भदौ २४ गते आन्दोलनको क्रममा अराजक समूहले कार्यालयमा आगजनी गर्दा सम्पूर्ण कागजात, करोडौं मूल्य बराबरका करका स्टिकर, मुद्दामा बरामद भएका विभिन्न सामग्रीहरु र त्यससँग सम्बन्धित सवारीसाधन पनि जलेर नष्ट भएको आन्तरीक राजश्व कार्यालयले जनाएको छ ।
आगजनीमा कार्यालय परिसरमा रहेको एउटा स्कर्पियो, एउटा स्कुटर र चार वटा मोटरसाइकल समेत जलेका छन् । यस्तै कर छलीमा संलग्न प्रकरणमा पक्राउ परेर ल्याइएका चार चक्के गाडी र सो गाडीबाट जफत गरिएको मदिरा पनि पूर्ण रूपमा नष्ट भएको छ ।