राष्ट्रिय सभा सदस्यहरुले गर्मी यामसँगै सुरु भएको बाढी पहिरो तथा डेंगु संक्रमण लगायत समसामयिक विष्यमा सरकारको ध्यानाकर्षण गराएका छन । आजको राष्ट्रिय सभा बैठकमा सदस्य अनिता देवकोटाले दाङलाई डेंगु प्रभावित जिल्लाको रुपमा सुचिकृत गर नियन्त्रणको माग गरेकी हुन । उनले डेंगुको नियन्त्रण र रोकथामका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गर्न ध्यानार्कषण समेत गराइन ।
राष्ट्रिय सभा सदस्य इन्दु कडरियाले नेपालका नर्सिङ कलेजहरु बन्द गरी बिद्यार्थीहरु बाहिर पढ्न जानुपर्ने अवस्था रहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराइन ।
राष्ट्रिय सभा सदस्य कुमार दसौदीले पेट्रोलियम पद्धार्थको मूल्य समायोजन गर्न सरकारसँग माग गरे ।
खिमलाल देवकोटाले अन्नपूर्ण संरक्षण आयोजनले स्थानीय तहका विकास निर्माण लगायतका काममा व्यवधान सिर्जना गरेको गुनासो गरे ।
राष्ट्रिय सभा सदस्य दीपा गुरुङले वर्षाका कारण देशको थुप्रै ठाउँमा बाढी, पहिरो गएको र जनधनको क्षति भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन ।
त्यस्तै सदस्यहरुले हुम्ला सदरमुकाममा राष्ट्रिय सडक सञ्जालमा जोड्नेगरी बजेट सुनिश्चित गर्न, बाढी पहिरोवाट विस्थापितलाई व्यवस्थापन गर्न र किसानलाई रासायनिक मल उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।