काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले गौर हत्याकाण्डको निष्पक्ष र तटस्थ ढंगले अनुसन्धान हुनुपर्ने माग गरेको छ ।
बुधबार काठमाडौंमा बसेको मोर्चाको बैठकले एकपक्षीय, राजनीतिक प्रतिशोधी, पूर्वाग्रही र विभेदी मानसिकताका आधारमा हुने अनुसन्धान वा कारबाहीको कडा प्रतिकार गर्ने चेतावनी दिएको हो ।
बैठकले गौर हत्याकाण्डलाई राजनीतिक भिडन्तको संज्ञा दिँदै अनुसन्धान सफा नियत, तटस्थता, कानुनसम्मत र सम्बन्धित सबैलाई ल्याएर गरिए अनुसन्धानप्रति आपत्र् नहुने प्रस्ट्याएको छ । बैठकले अहिलेसम्म सरकारद्वारा गठित हरिप्रसाद घिमिरे र खिलराज रेग्मी नेतृत्वका छानबिन आयोगका प्रतिवेदन सार्वजनिक हुनुपर्ने र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा उल्लिखित तथ्यलाई आधार बनाएर वास्तविकतामा आधारित अनुसन्धान हुनुपर्नेमा जोड दिएको छ ।
२०६३ चैत ७ गते रौतहटमा तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादीबीचको राजनीतिक विवाद र त्यसपछिको भिडन्तमा २७ जनाले ज्यान गुमाएका थिए । गौर हत्याकाण्ड भनिएको यस घटनामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत नेताको संलग्नता दाबी गरिएको रिटमा सर्वोच्च अदालतले सोमबार अनुसन्धान गर्न परमादेश जारी गरेको थियो ।
त्यसैगरी, मोर्चाको बैठकले रूपन्देही क्षेत्र ३ मा हुने उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई उम्मेदवार तय गर्ने जिम्मेवारी दिएको छ ।