समाज

उपसभामुख रानालाई हटाउने प्रस्ताव तत्काल अघि नबढाउने सत्तारुढ दलको निर्णय

उपसभामुख रानालाई हटाउने प्रस्ताव तत्काल अघि नबढाउने सत्तारुढ दलको निर्णय

काठमाडौं । सत्तारुढ दलले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने प्रस्ताव तत्काल अघि नबढाउने निर्णय गरेका छन् ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकले उपसभामुख राना स्वदेश फर्किएपछि मात्रै प्रक्रिया बढाउने निष्कर्ष निकालेका हुन् । बैठकपछि नेताहरुले उपसभामुख रानामगर देश बाहिर रहेकाले स्वदेश फर्किपछि मात्रै प्रक्रिया अघि बढाउने सहमति भएको जनाएका छन् । 

हाल अमेरिका भ्रमणमा रहेका उपसभामुख भाद्र १३ गतेपछि मात्रै स्वदेश फर्कने बुझिएको छ । बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने उपसभामुख रानाबिरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने बिषयमा छलफल नै नभएको दाबी गरे । 

उपयुक्त समयमा यसका बिषयमा आवश्यक निर्णय लिने भन्दै उनले उपसभामुख देशबाहिर रहेका बेलाा उनकाबिरुद्ध टिप्पणी गर्नु उचित नहुने पनि बताए । प्रमुख सचेतक बर्तौलाले सत्तारुढ दलबीच संसदीय मामिलालाई प्रभावकारी बनाउने, महत्वपूर्ण विधेयकलाई अघि बढाउने र संसदमा देखिएको गतिरोधका बिषयमा साझा धारणा बनाउने प्रयास गरिएको पनि बताए । उनले भूमिसम्बन्धी विधेयकमा सत्तारुढ दलबीच समान धारणा बनाएर सदनबाट पारित गर्न छलफल भएको जिकिर समेत गरे ।

यस्तै, जनता समाजवादी पार्टीका नेता वीरेन्द्र महतोले पनि सत्ता गठबन्धको बैठकमा समयमा नै विधेयक पारित गर्न संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने लगाएतका बिषयमा छलफल भएको बताए । 

बैठकमा कांग्रेस एमाले, जसपा, जसपा नेपाल, लोसपा, जनमतलगाएत दलका नेताहरु सहभागी भएका थिए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *