काठमाडौं । गत असोज ११ र १२ गते आएको बाढीपहिरोबाट घरबारविहीन भएर पुरानो लयमा फर्कने प्रयास गरिरहेका काभ्रेपलाञ्चोक, पनौतीका स्थानीयवासीले पुनः ठुलो क्षति बेहोरेका छन् ।
गत असोजको बाढीपहिरोले दिएकोे चोट बिर्सन नपाउँदै पनौतीवासीलाई सोमबार परेको आरीघोप्टे वर्षाले पुन क्षति गराएको हो । एक्कासि परेको वर्षाले रोशी र पुण्यमाता खोलाले उग्र रूप लिदा ठूलो क्षति भएको छ । बाढीले खानेपानीको पाइप लाइन बगाउनुका साथै गत असोजको बाढीले ध्वस्त बनाएको सडकलाई असर पारेको छ ।
पनौती नगरपालिका–५ स्थित सुब्बा गाउँमा कुलोले बगाउँदा सोही ठाउँ बस्ने रेनुका गिरी बेपत्ता छिन । वर्षाले पनौती बसपार्क आसपासका केही क्षेत्र डुबानमा परेको छ । आलु लगाइएको खेतमा एक्कासि बाढी पस्दा कृषकले ठुलो क्षति बेहोर्नुपरेको छ । गत असोजको बाढीपहिरोपछि निर्माण थालिएका सडक, पुललगायतका भौतिक संरचनामा समेत बाढीले क्षति पारेको छ ।
गत असोजको बाढीपछि अस्थायी रूपमा ल्याएको खानेपानीका पाइप सोमबारको बाढीले बगाएको छ । त्यस्तै प्रदेश सरकारको बजेटबाट बन्दै गरेका दुई वटा पुलमा क्षति पुर्याएको छरु। वडा नम्बर ९ मा बन्दै गरेको एउटा र १० र ११ नम्बर वडाको सिमानामा बनेको अर्को पुलमा क्षति पुर्याएको छ । बाढीले वडा नम्बर २, ३, ४, ५, ६, , ७, ८, ९, १० बढी प्रभावित भएको नगरपालिकाले जनाएको छ । सोमबार साँझ नौ बजेदेखि बि.पी. राजमार्ग अवरुद्ध भएको छ । रोशी खोलाको बहाब बढेर डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको हो ।
उता सोमबार रातिनै नवलपरासीको कावासोती–दुम्कीवास खण्डको बीचमा पर्ने चोरमारा पुल भासिएपछि पूर्व–पश्चिम राजमार्गमा यातायात ठप्प भएको हो । ठूलो ट्रक पार गर्ने क्रममा पुल भासिएको प्रहरीले जनाएको छ । फलामे पुल भासिएपछि पूर्व–पश्चिम हिँडेका सयौं यात्रु र गाडी चोरमारा र अरुणखोलामा रोकिएका छन् ।