काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्ने बताएका छन् ।
महामन्त्री थापाले कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहनु हुँदैन, रहन सक्दै नसक्ने उल्लेख गरेका हुन् ।
पार्टीको बैठकबाट यो निर्णय गराउन आफुले पहल गर्ने उनको भनाइ छ । अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको भन्दै उनले प्रधानमन्त्री केपी ओलीले दमनको जिम्मा लिएर अबिलम्ब पद छाडनुपर्ने गगनको भनाइ छ ।
यसैबिच कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । जेन जी पुस्ताले गरेको भ्रष्टाचारविरुद्धको आन्दोलनमा सरकारी दमन तिव्र भएकाले जिम्मेवारीमा बसिरहन असमर्थ रहेको जनाउँदै उनले मन्त्री पद त्याग्ने घोषणा गरेका हुन् ।
मन्त्री अधिकारी धादिङ २ बाट निर्वाचित भएका थिए । यसैविच कांग्रेसको शेखर समूहमा रहेका अन्य मन्त्रीहरुले पनि राजीनामा दिने तयारी गरेका छन् ।