काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको अनुसन्धान पूरा गरेको जनाएको छ ।
तीनकुने घटनामा मृत्यु भएका पत्रकार स्वर्गिय सुरेश रजकका परिवारको ध्यानाकर्षण पत्र बुझ्दै आयोगकी अनुसन्धान अधिकृत मञ्जु खतिवडाले उक्त घटना गम्भीर विषय भएकोले द्रुत गतिमा अनुसन्धान सम्पन्न भएको जानकारी दिएकी हुन् ।
उनले अनुसन्धानको निष्कर्षसहित केही दिनभित्र अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्ने आयोगले तयारी गरिरहेको पनि जानकारी दिईन् । अनुसन्धानबाट निकालिएको निष्कर्ष र राज्यले पूरा गर्नुपर्ने दायित्वसहित मृतकका परिवार र घाइतेलाई के गर्नुपर्छ भन्ने सुझावसमेत प्रतिवेदनमा आउने उनको भनाइ छ ।
प्रदर्शनका क्रममा मृत्यु भएका पत्रकार रजककी श्रीमती सुजनले उक्त घटना योजनावद्ध, षड्यन्त्रमुलक वा अन्य कुनै आपराधिक कार्यबाट हुन गएको आशंका गर्दै न्यायोचित छानविनका लागि आयोग समक्ष आग्रह गरेकी छन् ।