काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग नगरेको बताएका छन् ।
राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले यस्तो बताएका हुन् । भ्रष्टाचारबाट आर्जन गरेर सिंगापुर, अमेरिका र युरोपमा लुकाइएको सम्पती नेपाल फर्काउन दोस्रो पक्ष सहमत भएपनि सरकारले नचाहेको उनको भनाइ छ । अख्तियार प्रमुख राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा राखिएको सम्पती फिर्ता गर्न सांसदहरुलाई आग्रह समेत गरेका छन् । यस सम्बनधमा काम गर्न सरकारी कार्यदल गठन भएपनि दु्रत गतिमा काम नगरेको उनको गुनासो छ । अख्तियार अनुसन्धानमा राजनीतिक दबाब र प्रभाव नरहेको दाबी राईको छ ।
आफूले कार्यकाल सम्हालेपछि कुनैपनि शीर्ष नेतृत्वबाट मुद्दा चलाउनु÷नचलाउनु भनि दबाब नआएको राईले बताए । उनले भ्रष्टाचार र अनियमिततामा संलग्न ठुलो नेक्सस भएकाहरुमाथि अनुसन्धान गरिएको पनि दाबी गरे ।
भ्रष्टाचारमा संलग्न कर्मचारीहरुले माथिल्लो तहको संलग्नताबारे मुख खोल्ने नगरेको कारण अनुसन्धान प्रभावित हुने गरेको समेत प्रमुख आयुक्त राईको भनाइ छ ।
प्रमुख आयुक्त राईले भ्रष्टाचार अब देशभित्र मात्र सिमित नभई अन्तर्राष्ट्रियकरण भइसकेको उल्लेख गर्दै भ्रष्टाचारमा संलग्न हुने गैरआवासीय नागरिकहरुको संख्या उल्लेख्य मात्रामा रहेको दाबी गरे ।