काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आज औपचारिक रूपमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आज औपचारिक रूपमा संघ र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएकी हुन् । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो ।
बजेट निर्माणका क्रममा मन्त्री चौधरीले वित्तीय अनुशासन कायम नगरेको, खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिमा कार्यकारी निर्देशक नियुक्त गर्दा कुनै जानकारी नगरेको लगायतका आरोपसहित उनको राजीनामा मागिएको थियो ।
गठबन्धनमै रहेर पनि छलफल नै नगरी मन्त्री बर्खास्त गरिएपछि पार्टीले समर्थन फिर्ता लिने निर्णय गरेको हो । सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार छ । कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका ७ सांसद छन् ।
नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएपछि पनि संघ र प्रदेश सरकार अल्पमतमा पर्ने अवस्था भने छैन ।