कैलाली । कैलाली उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै संघका वर्तमान वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाको नेतृत्वमा सोमबार धनगढीमा प्यानल घोषणा भएको छ ।
भदौ २८ मा हुने निर्वाचनका लागि प्यानल घोषणा कार्यक्रमसँगै विस्तृत घोषणापत्र सार्वजनिक गरिएको हो । कार्यक्रममा अध्यक्षका उम्मेदवार ओझाले आफू व्यवसायीहरूको अधिकार र हित संरक्षणमा लाग्ने बताए ।
ओझा समूहले उद्योग वाणिज्य सङ्घमा दर्ता हुने प्रत्येक व्यवसायीलाई १ लाख बराबरको दुर्घटना बीमा सुविधा निःशुल्क उपलब्ध गराउने, विपद वा संकटमा प्रभावित व्यवसायलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग गर्ने लगायतका १५ वटा प्रतिबद्धता जनाएको छ ।
ओझा समूहबाट वरिष्ठ उपाध्यक्षमा ओमबहादुर बिष्ट, उद्योग उपाध्यक्षमा बासुदेव भट्ट, वाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा भीमराज ओझा र एसोसियट्स उपाध्यक्षमा मनोज अग्रवाल रहेका छन् ।
त्यस्तै, महासचिवमा दिनेश लम्साल, सचिवमा कृष्णाकुमारी बिष्ट र कोषाध्यक्षमा सुरेन्द्रबहादुर कडायत उम्मेदवार बनेका छन् ।