समाज

बाल मन्दिर जग्गा प्रकरण: १७ जनाविरुद्ध ठगी मुद्दा दर्ता हुँदै

बाल मन्दिर जग्गा प्रकरण: १७ जनाविरुद्ध ठगी मुद्दा दर्ता हुँदै

काठमाडौं । नेपाल बाल संगठन (बाल मन्दिर)को २८ रोपनी जग्गा कौडीको भाउमा लिजमा लगाएर भएको हिनामिनामा अब ठगी मुद्दा चल्ने भएको छ ।  

सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने सिफारिस गरे पनि महान्यायाधिवक्ता कार्यालयले अनुसन्धानपछि अभियोग चलाउने निर्णय गर्दै जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा फाइल पठाएको हो ।

मुख्य आरोपीका रूपमा पूर्व अध्यक्ष तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्य रहेको बताइएको छ । उनी अध्यक्ष रहँदा बृहस्पति विद्या सदनलाई विनाप्रतिस्पर्धा २१३१ सालसम्मका लागि लिजमा दिइएको थियो । सो स्कुलले बाल संगठनको ५२ रोपनी सम्पूर्ण जग्गा धितो राखेर बैंकबाट ४४ करोड कर्जा लिएको थियो ।

सिआइबीको अनुसन्धान र उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदनले ठगी पुष्टि गरेपछि मुद्दा दर्ता प्रक्रिया अघि बढेको हो । सो अनियमितताबाट संगठनले मासिक करोडौँ आम्दानी गुमाउँदै आएको छ भने तीन सय अनाथ बालबालिका पाल्न संकट भोग्दै आएको छ ।

रिता सिंह वैद्यसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय महान्यायाधिवक्ताको कार्यालयले गरेको हो । बाल संगठनको जग्गा कौडीको मूल्यमा ७९ वर्षसम्मका लागि भाडामा दिएर सरकारी सम्पत्ति हानी–नोक्सानी गरेको आरोप प्रतिवादीहरूमाथि छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *