काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफूले पदबाट राजीनामा नदिने बरु सदनको सामना गर्ने बताएका छन् । एभिन्युज खबरसँग बिहीबार साँझ कुरा गर्दै उनले बहुमत सिद्ध भए सरकारको नेतृत्व गरिरहने, नभए सरकार प्रमुखबाट बाहिरिने स्पष्ट पारे ।
आफ्ना दल जनमत पार्टीले सरकारबाट बाहिरिन निर्देशन दिइसकेको र केही सत्तारुढ तथा विपक्षी दलहरूले जेनजी आन्दोलनक्रममा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका मुख्यमन्त्री सिँहले पदबाट राजीनामा दिएर नैतिकता प्रदर्शन गर्न चुनौती दिएका बेला मुख्यमन्त्री सिंहको यो धारणा आएको हो ।
प्रादेशिक सत्ताको नेतृत्व गरिरहेको जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने पत्र सभामुखलाई पठाइसकेपछि संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र मुख्यमन्त्री सिंहले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने हुन्छ ।
मुख्यमन्त्री सिंहले प्रदेश प्रमुख प्रादेशिक राजधानी जनकपुरधाम आएपछि राजीनामा दिने भन्दाभन्दै पार्टीभित्र थरीथरीका चलखेल भई आफ्नो मानमर्दन हुनेगरी पार्टी संसदीय दलले आफूलाई फिर्ता गर्न सभामुखलाई पत्र लेखेको गुनासो समेत गरे । उनले संघीयताका पक्षमा सबै राजनीतिक दलहरू एकजुट हुने बेलामा पार्टीले आफ्नो राजीनामा लिन देखाएको आतुरता दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरे ।
उनले पार्टीभन्दा माथि देश र संघीयता रहेको भन्दै आफूले अहिलेको विषम परिस्थितिको सामना गर्दै प्रदेशलाई ट्रयाकमा ल्याउन जस्तोसुकै मूल्य चुकाउन तयार रहेको उल्लेख गरे ।