काठमाडौ। सशस्त्र प्रहरीले पर्सामा ठूलो परिमाणमा चरेश बरामद गरेको छ । भारततर्फ लैजाँदै गरिएको ९ किलो ५ सय २२ ग्राम चरेश मोटरसाइकलमा फल्सबटम बनाई लुकाइएको अवस्थामा भेटिएको हो । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साबाट खटिएको मोबाइल टोलीले पर्साको छिपहरमाई गाउँपालिका–४ बन्जारीस्थित भिस्वा–जानकी टोला सडकखण्डमा जाँच गर्दा बीआर २२ जे ३५५० नम्बरको होन्डासाइन मोटरसाइकलमा लुकाइछिपाइ लैजाँदै गरिएको ठूलो परिमाणको चरेश बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद भएको चरेश १९ वटा प्लास्टिकका प्याकेटमा राखिएको अवस्थामा फेला परेकोे छ । चरेस ओसारपसारमा संलग्न भएको आरोपमा भारतीय राज्य बिहारस्थित पश्चिम चम्पारण जिल्लाको बेतिया कोईरी टोल वडा नम्बर ३७ निवासी ३१ वर्षीय गुलाम मोहमद पक्राउ परेका छन् । उनीसँग आधार कार्ड र कार्बोन कम्पनीको किप्याड मोबाइलसमेत बरामद भएको छ । पक्राउ परेका व्यक्ति र बरामद चरेशलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका सूचना अधिकारी तथा नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिएका छन् ।