एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई रूसी तेल खरिदका कारण ठूलो मात्रामा भन्सार शुल्क बढाउने चेतावनी दिएका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत युक्रेनमा रूसी युद्ध मिसनद्वारा मारिइरहेका मानिसहरूको कुनै मतलब नगरेको भन्दै कर बढाउने चेतावनी दिएका हुन् ।
भारतले मात्र ठूलो मात्रामा रूसी तेल किन्नुका साथै तेललाई खुला बजारमा बेचेर ठूलो मुनाफा कमाइरहेको आरोप ट्रम्पको छ । ट्रम्पले नयाँ भन्सार शुल्क कति प्रतिशत हुने भन्ने खुलाएका छैनन । केही दिनअघि मात्रै उनले भारतमाथि २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका थिए ।
रूसले युक्रेनमाथि २०२२ मा पूर्ण आक्रमण गरेपछि धेरै युरोपेली देशहरूले व्यापार कटौती गरेपनि भारत रूसको एक प्रमुख तेल खरीददार बनिरहेको छ । भारतले ट्रम्पको चेतावनीलाई अन्यायपूर्ण भनेको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रन्धीर जयसवालले एक विज्ञप्तिमा अमेरिकी पक्षले नै भारतलाई रूसी ग्यास आयात गर्न प्रोत्साहन दिएको स्मरण गराएका छन् ।
भारतले अमेरिकामाथि पनि दोहोरो मापदण्ड अपनाएको आरोप लगाएको छ । कडा प्रतिबन्ध र भन्सारको बाबजुद पनि अमेरिका आफैंले गत वर्ष रूससँग झन्डै ३ दशमलब ५ अर्ब डलरको व्यापार गरेको थियो । भारतले पनि आफ्नो राष्ट्रिय हित र आर्थिक सुरक्षालाई जोगाउन आवश्यक सबै कदम चाल्ने जनाएको छ ।